रौतहट,२२ कातिक । नेपाली कांग्रेसका पूर्वमन्त्री तथा नेता मोहम्मद अफताब आलमको पार्थिव शरीर आज उनको गृह जिल्ला रौतहटमा ल्याइएपछि गाउँ शोकमा डुबेको छ।
काठमाडौं मेडिकल कलेजमा एक महिनादेखि उपचाररत रहेका आलमको शनिबार बिहान निधन भएको हो। उच्च रक्तचाप र मधुमेहलगायत स्वास्थ्य समस्या चर्किएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
उनको पार्थिव शरीर राजपुर फरहदवास्थित पैत्रिक घरमा राखिएको छ, जहाँ दर्शन र श्रद्धाञ्जली दिन ठूलो भीड लागेको स्थानीयहरूले बताएका छन्।
आजै मुस्लिम धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
आलमका दुई छोरा र एक छोरी छन्। जेठा छोरा डा. फिरदोस र कान्छा छोरा डा. राजिक हाल राजपुर नगरपालिकाका नगर प्रमुख हुन्।




