जनकपुर,२२ कातिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभामा विश्वासको मत लिन लागेको अवस्थामा चार जना सांसद अनुपस्थित रहेका छन्। अनुपस्थित सांसदमा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह, त्रिभुवन साह, नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी र राप्रपाकी कञ्चन विच्छा रहेका छन्।
सिंह र साहले जनमतबाट छुट्टिएर बनेको जनस्वराज पार्टी रोजेका कारण अनुपस्थित रहेको जानकारी दिएका छन्। अन्सारी र विच्छा भने आफ्नो पार्टीको निर्णयअनुसार तटस्थ रहने उद्देश्यले उपस्थित नभएको बताएका छन्।
यसबीच, जनता समाजवादी पार्टीका १८, जनमतका ११, माओवादी केन्द्रका ९, लोसपा ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्तिका १ सांसदले सोनललाई समर्थन गर्नेछन्। नेपाली कांग्रेस र एमालेले सरकारको विपक्षमा मतदान गर्ने तयारीमा छन्।
सोनल असोज २९ गते पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।




