लहान, २२ कात्तिक । लहान नगरपालिका–३ मा नौ करोड रुपैयाँको लगानीमा आधुनिक सुविधा सम्पन्न कार्निभल सिनेमा हल सञ्चालनमा आएको छ। लहानका प्रतिष्ठित उद्योगपति मुरारकाको परिवारका अभिनव मुरारकाले सञ्चालनमा ल्याएको यस हलमा एकसाथ १३८ दर्शक बस्न सक्ने सुविधा रहेको छ।
उहाँका अनुसार, यो प्रकारको सुविधा पश्चिममा वीरगन्ज र पूर्वमा विराटनगरमा मात्र उपलब्ध छ। हल सञ्चालनको उद्देश्य लहानको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु र १८ किलोमिटर दक्षिणमा पर्ने भारतको विहारबाट पनि दर्शक आकर्षित गर्नु रहेको छ।
सिनेमा हलमा टिकट मूल्य तीन सय, पाँच सय र नौ सय रुपैयाँ तोकिएको छ। लहानमा पहिलोपटक यति ठूलो लगानी र महँगो टिकटका कारण हल टिकाउन चुनौती भए तापनि यसले स्थानीय समृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।
जिल्ला उद्योग वाणिज्य संघ लहान–सिराहा अध्यक्ष विकास शारडाले यस पहललाई प्रशंसनीय रहेको उल्लेख गर्दै, यसले मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थप्ने बताए। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सिनेमा हल सञ्चालनको लागि प्रशासनिक र सुरक्षा उपाय सुनिश्चित गरिएको जानकारी दिएका छन्।
यस हलले सिराहा, सप्तरी र उदयपुर जिल्लाका नागरिकका लागि मनोरञ्जनको नयाँ केन्द्रको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।



