जनकपुर,२२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत पाउने क्रममा संकट उत्पन्न भएको छ। आज सदनमा सत्ता पक्षका ५४ सांसद उपस्थित भए पनि नेकपा माओवादी केन्द्रका दुई प्रदेश सांसदले विद्रोह गरेपछि मत विभाजन केहीबेर रोकिएको छ।
प्रदेशसभा कुल १०७ सदस्यीय छ, जसमा सरकारको लागि बहुमत प्राप्त गर्न ५४ मत आवश्यक छ। जनमतबाट जनस्वराज पार्टीमा प्रवेश गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साह आज अनुपस्थित छन्।
सत्तागठबन्धनमा लोसपा ८, जसपा नेपाल १८, जनमत १३, नेकपा माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ७ सिटमा छन्। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सोनललाई समर्थन गर्ने निर्णय गरिसकेको छ। तर संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी अनुपस्थित भएकी छिन्।
माओवादी केन्द्रका प्रदेश सांसद रहबर अन्सारी र माला राईले आज सदनमै विद्रोह प्रदर्शन गरेका छन्, जसले विश्वासमत प्रक्रिया केहीबेर रोकिएको हो। अहिले सदनमा मत विभाजन पुनः जारी हुने तयारी भइरहेको छ।




