spot_img

ओली चुनाव भाँड्न नयाँ नाटक मञ्चन गर्दैछन् : प्रभु साह

spot_img
spot_img

काठमाडौँ, २२ कात्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि २१ फागुनमा हुने चुनाव भाँड्न नयाँ नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। उनले चुनाव अवरोध गर्न खोज्ने कुनै पनि षड्यन्त्रविरुद्ध जनस्तरबाट प्रतिवाद गर्नुपर्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौँमा आयोजित अन्तरक्रियामा साहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने बहानामा ओलीले आफ्ना नेताहरूलाई हस्ताक्षर सङ्कलन अभियान चलाउन लगाएको बताए। उनले जेनजी आन्दोलनमा चरम दमन गर्ने, युवाहरूको छाती र टाउकोमा गोली हान्नेहरूले आज चुनाव रोक्न चुनौती दिइरहेको टिप्पणी गरे।

साहले ओलीको अहङ्कार र दम्भको सामना जनताले युवाहरूको बलमा गरेको भन्दै एमाले चुनाव सामना गर्न डराएको बताए। जेनजी आन्दोलनका हत्याराहरूलाई कारबाही नगर्नु सरकारको कमजोरी र हत्यारासँगको नेक्ससको संकेत भएको उनले आरोप लगाए।

साहले गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गर्दै भने, “सस्तो लोकप्रियता पाउने प्रयासमा रमाउने बजाय जेनजी हत्यारालाई छिटो कारबाही गर्नु प्राथमिकता हुनुपर्छ।” उनले सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको गौरवलाई धुमिल पार्न खोजेको शङ्का व्यक्त गर्दै, २१ फागुनको चुनावमा सरकारले आफ्नो दायित्व पूरा गर्नुपर्ने चेतावनी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय