बीरगन्ज,२३ कात्तिक । पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत ठगीका घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साले व्यापारीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार केही व्यक्तिहरूले प्रतिष्ठित व्यावसायिक प्रतिष्ठानहरूको नाममा नक्कली बिल र भौचर तयार गरी सिमेन्ट, छड, मदिरा, मोटर पार्ट्सलगायतका सामान ठगी गर्ने गतिविधि दोहोर्याउँदै आएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै व्यापारिक कारोबार गर्दा पूर्ण रूपमा पुष्टि गरी मात्र लेनदेन गर्न आग्रह गरेका छन्। उनले भने, “आधिकारिकता नदेखिएका सामानहरू खरिद–बिक्री नगर्नुहोस्, अन्यथा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ।”
प्रहरीले यस्ता ठगीमा संलग्न समूहको खोजी तीव्र रूपमा भइरहेको जानकारी दिँदै व्यापारी तथा सर्वसाधारणलाई शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।




