काठमाडौं,२३ कात्तिक । नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री पुनः नेकपा (एमाले)मा फर्किने भएकी छन्। उनले सोमबार औपचारिक रूपमा एमाले प्रवेश गर्ने तयारी गरेकी हुन्।
झाँक्रीले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो निर्णयको संकेत दिएकी थिइन्। उनले लेखेकी छन्,
“यो ‘घर फर्क’ अभियान हाम्रो आफ्नै अभियान हो। हामी सबैले एकताबद्ध भएर कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा (एमाले)मा फर्कनुपर्छ। सबै कमरेडहरूलाई यस अभियानमा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।”
उनको यो अभिव्यक्तिलाई एमालेमा पुनः प्रवेशको खुला घोषणा मानिएको छ।एमालेले भोलि दिउँसो राष्ट्रियसभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ आयोजना गर्दैछ। सोही कार्यक्रममा झाँक्रीसहित केही अन्य नेताहरू पनि एमाले प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ।
केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्माणमा सघाएका तर बीचमा अन्य दलतर्फ लागेका नेताहरूलाई पुनः फर्कन आह्वान गरेका थिए।
माधवकुमार नेपालले एमाले फुटाएर एकीकृत समाजवादी गठन गरेपछि झाँक्री असन्तुष्ट देखिएकी थिइन्। अब उनी पुनः ओली नेतृत्वको एमालेमा फर्किँदै पार्टीभित्र पुनः सक्रिय हुने तयारीमा छन्।




