spot_img

उखुको पुरानो बक्यौता रकम माग गर्दै किसान धर्नामा

spot_img
spot_img

सर्लाही,२३ कात्तिक । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगविरुद्ध उखु किसानले आइतबार दिउँसोदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। किसानले वर्षौँदेखि नपाएको उखुको बक्यौता रकम माग गर्दै उद्योगको मुख्य गेटमा तालाबन्दी गरेका हुन्।

किसानका अनुसार आर्थिक वर्ष २०७०/७१ यता बिक्री गरेको उखुको भुक्तानी अझै पाउन बाँकी छ। धनकौल–२ का किसान मदन साहले २०७४ सालमा उद्योगलाई बिक्री गरेको उखुको पैसा अहिलेसम्म नपाएको गुनासो गर्दै आन्दोलनमा सहभागी भएका छन्।

गत वर्ष उखुको मूल्य निर्धारण नहुँदै उद्योग सञ्चालनमा आए पनि प्रतिक्विन्टल २० रुपैयाँ भुक्तानी दिन बाँकी रहेको किसानहरूको दाबी छ। २०८० फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योगले २०८१ जेठ मसान्तसम्म सम्पूर्ण भुक्तानी गर्ने वाचा गरे पनि हालसम्म पैसा नपाएको किसानको आरोप छ।

किसानहरूले २०७१ सालदेखि हालसम्म अन्नपूर्ण चिनी उद्योगले नौ करोड ७० लाख रुपैयाँ बक्यौता राखेको दाबी गरेका छन्। तर, यो रकम पुरानो मालिकले तिर्ने कि नयाँ मालिकले भन्ने विषयमा विवाद जारी छ।

उद्योगका प्रशासकीय प्रमुख रमेशप्रसाद श्रीवास्तवका अनुसार किसानको पुरानो भुक्तानीसम्बन्धी मुद्दा सर्लाही जिल्ला अदालतमा विचाराधीन छ। उद्योगका संस्थापक उद्योगपति राकेश अग्रवालबाट २०७७ सालमा शैलेन्द्र गुप्ताले यो उद्योग खरिद गरेका थिए।

श्रीवास्तवका अनुसार गत वर्ष उखुको मूल्य तोकिँनु अघि नै मिल सञ्चालन भएको र उखुबाट प्राप्त रिकोभरी अपेक्षाकृत कम भएकाले किसानलाई भुक्तानी गर्न समस्या आएको हो।

यसबीच, किसानहरूले तत्काल सम्पूर्ण बक्यौता रकम भुक्तानी नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय