जनकपुर,२४ कात्तिक । मधेश प्रदेशमा नयाँ राजनीतिक परिवर्तनसँगै नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
यसअघि मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि ठूलो दलको हैसियत अनुसार एमाले नेता यादवलाई सरकार गठनको जिम्मा दिएको हो।
रोचक पक्ष, बिहान प्रदेश प्रमुख भण्डारी स्वास्थ्य समस्याका कारण काठमाडौं प्रस्थान गरेकी थिइन्। जनकपुरबाट बिदाइ गर्ने क्रममा तत्कालीन मुख्यमन्त्री सोनलले भण्डारीको स्वास्थ्य लाभको कामना गर्दै, राजनीतिक प्रक्रिया उहाँ फर्किएपछि अघि बढ्ने बताएका थिए।
तर केही घण्टापछि नै प्रदेश प्रमुखको कार्यालयले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको आधिकारिक पत्र सार्वजनिक भयो।
यससँगै मधेशको सत्ता समीकरण फेरिएको छ, र सरोज कुमार यादवको नेतृत्वमा अब नयाँ सरकार गठन तथा विश्वासको मत प्रक्रियासहितको राजनीतिक अध्याय खुल्नेछ।




