जनकपुर,२४ कातिक । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको हालैको कदमप्रति आपत्ति जनाएका छन्। उनले प्रदेश प्रमुखले सिन्धुलीको एक होटलबाट नयाँ मुख्यमन्त्रीको शपथ गराएर प्रदेशको ‘अस्मिता कमजोर बनाएको’ दाबी गरे।
भण्डारी स्वास्थ्य उपचारका लागि काठमाडौँ जाँदै गर्दा बिचमै नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ गराएकी थिइन्। संविधानको धारा १६८ को उपधारा ३ अन्तर्गत सबैभन्दा ठूलो दलको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
सोनलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने,“मधेश प्रदेशका जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुखले सिन्धुली–महोत्तरीको सिमानामा रहेको होटलमै प्रदेशको गरिमा माथि खेलवाड गरिन्।”
यसअघि विश्वासको मत नपाउने परिस्थितिपछि सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामापछि उनले प्रदेश प्रमुखकै स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै केही राजनीतिक प्रक्रिया स्थगित रहनसक्ने बताएका थिए। तर भण्डारीको बाटोकै क्रममा शपथ कार्यक्रम भएकोमा उनी असन्तुष्ट देखिएका छन्।
अब नयाँ मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ। यसपछि मधेश प्रदेशको सत्ता समीकरण थप स्पष्ट हुनेछ।




