रौतहट,२४ कातिक । शंकर साह बनिया हत्याकाण्डमा संलग्न रहेका दुई आरोपितलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। जिल्ला न्यायाधीश शम्भु प्रसाद रेग्मीको एकल इजलासले आइतबारको थुनछेक बहसपछि सो आदेश जारी गरेको हो।
फतुवा विजयरपुर–२ सितलपुरका ४३ वर्षीय वरिष्ठ हवल्दार हरदेव राय यादव (विनोद) र ६० वर्षीय कपिलदेव यादवलाई मुलुकी फौजदारी कार्यविधि संहिता दफा ६७ अनुसार तत्काल रिहा गर्नु उपयुक्त नहुने ठहर गर्दै थुनामा राखिएको न्यायालयले जनाएको छ। अदालतको आदेशबारे उपसचिव केशरनाथ अर्यालले जानकारी दिए।
गत असोज २६ गते जग्गा विवादका क्रममा कुटपिट भयो र सो क्रममै शंकर साह बनियाको मृत्यु भएको थियो।
थुनछेक बहसको दिन नै पीडित परिवार र स्थानीयवासीले न्यायको माग गर्दै जिल्ला अदालत गौरको मुख्य गेट अगाडि बिहानदेखि साँझसम्म धर्ना दिएका थिए। पीडित पक्षले घटनामा संलग्न बाँकी फरार चार अभियुक्तलाई शीघ्र पक्राउ गरेर कानुनी कारबाही अघि बढाउन आग्रह गरेको छ।




