सप्तरी,२४ कातिक । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन्। आइतबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतमकुमार केसीले जानकारी दिए।
पक्राउ पर्नेहरूमा राजविराज–४ का विनित चौहान र उदय ठाकुर, बिष्णुपुर–६ का परमेश्वर यादव र उनका छोरा रमण यादव रहेका छन्। घटना अस्पतालको एनआइसीयू वार्डमा बल्ब झर्दा भर्ना गरिएको नवजात शिशुलाई करेन्ट लागेपछि सुरु भएको थियो। रुपनी गाउँपालिका हर्दियाकी रेखा यादवको आजै जन्मिएको शिशु उक्त घटनामा घाइते भएको बताइएको छ।
शिशुको अवस्थाप्रति आक्रोशित स्थानीय युवाहरूले अस्पताल प्रशासनको लापरवाही भएको आरोप लगाउँदै अस्पताल परिसरमा तोडफोड गरे र केही स्थानमा आगजनी समेत गरिएको प्रहरीको भनाइ छ।
अस्पताल प्रशासनले केही व्यक्तिहरुले निमित्त मेसु (मेडिकल सुपरिन्टेन्डेन्ट) दिलीप साहमाथि कुटपिट प्रयास गरेको दाबी गरेको छ।
प्रहरीले उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि पहिचान हुँदै गएको बताउँदै, पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।




