जनकपुर,२४ कात्तिक । मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि भएको विरोध प्रदर्शन आज उग्र बनेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका समूहले कार्यालयको प्रवेशद्वार नजिक राखिएका सजावटी गमलाहरू तोडफोड गरेका छन्।
प्रदर्शनकारीहरूले ‘प्रदेश प्रमुख राजीनामा दे’, ‘एमाले चोर देश छोड’, ‘एमालेको प्रदेश प्रमुख हटाऊ’ जस्ता नाराहरू लगाउँदै विरोध जनाएका थिए। प्रहरीका अनुसार प्रदर्शनकारीहरूको केही समूहले कार्यालय गेटमा रहेका गमलाहरूमा क्षति पुर्याएको पुष्टि भएको छ।
विरोध प्रदर्शन विशेषगरी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र नेकपा (एमाले) नेतृत्वलाई लक्षित थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अतिरिक्त सुरक्षा बल परिचालन गरेको जनाएको छ।
सुरक्षा निकायले अहिले कार्यालय वरिपरि कडा निगरानी बढाएको छ र परिस्थिति पूर्ण नियन्त्रणमा रहेको बताएको छ।




