spot_img

नक्कली बिलबिजकमार्फत ठगी बढेपछि पर्सा प्रहरीले सावधानी अपिल

spot_img
spot_img

बीरगन्ज,२५ कातिक । जिल्लामा केही दिनयता नक्कली बिलबिजक प्रयोग गरी ठगी गर्ने घटनाहरू बढ्न थालेपछि पर्सा प्रहरीले व्यापारी र व्यवसायीहरूलाई अतिरिक्त सावधान रहन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार प्रतिष्ठित उद्योग तथा व्यापारिक घरानाहरूको नाम, लोगो र बिलबिजक नक्कली बनाएर सिमेन्ट, छड, मदिरा, मोटर पार्ट्स लगायतका सामान ठगीपूर्वक उठाउने कार्य भइरहेको छ।

बस्नेतले भने, “व्यापारिक कारोबार गर्दा सामान किन्ने व्यक्तिको परिचय र आधिकारिकता एकिन गरी मात्र कारोबार गर्नुहोला। शंकास्पद बिलबिजक वा कागजातका आधारमा व्यवसाय गर्दा ठगीमा पर्ने जोखिम उच्च हुन्छ। आधिकारिकताबिनाका सामान बिक्री वा खरिद दुवैमा प्रचलित कानुनअनुसार कारबाही हुन्छ।”

वीरगञ्ज उद्योग वाणिज्य संघले पनि व्यापारीहरूलाई ठगीविरुद्ध सचेत रहन आह्वान गरेको छ। संघका अध्यक्ष हरिप्रसाद गौतमका अनुसार केही व्यक्तिहरू प्रतिष्ठित कम्पनी वा उद्योगका नाममा सामान अर्डर गर्ने तर भुक्तानी नगरी गायब हुने जालसाजी भइरहेका छन्।

गौतमले भने, “सामान खरिद गर्न आउने व्यक्तिको आधिकारिक अनुमति, परिचयपत्र र कम्पनी प्रतिनिधि भएको पुष्टि नगरी लेनदेन नगर्नुहोस। नक्कली प्रतिनिधि र कागजपत्रमार्फत ठगी गर्ने प्रवृत्ति बढेको छ।”

प्रहरीले यस्ता घटनामा संलग्न व्यक्तिलाई पहिचान गरी कानुनी कारबाही प्रक्रियासमेत अघि बढाइएको जनाएको छ। व्यापारी–व्यवसायीलाई शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीमा जानकारी गराउन अनुरोध गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय