spot_img

संघीयतामा हस्तक्षेप स्वीकार्य छैन : मधेस प्रदेशका सांसद अन्सारी

spot_img
spot_img

जनकपुर,२५ कातिक । मधेस प्रदेशमा पछिल्लो राजनीतिक घटनाक्रमले तीव्र मोड लिँदै गर्दा नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेशसभा सांसद रहबर अन्सारीले संघीयतामा केन्द्रबाट हुने हस्तक्षेप प्रदेशको स्वायत्ततामाथिको ‘भद्दा मजाक’ भएको प्रतिक्रिया दिएका छन्।

मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकारले विश्वासको मत लिन लाग्दा अन्सारीले संसद्‍को रोस्ट्रममै आफूलाई मोसो दल्दै सांकेतिक विरोध प्रदर्शन गरेका थिए। उनको सो कदमपछि विश्वासको मत प्रक्रिया अघि बढ्न नसकेर सोनलले राजीनामा दिनुपरेको थियो।

अन्सारीले भने, “मधेस एमाले, माओवादी, कांग्रेस, जसपा—सबैले नेतृत्व गर्‍यो, तर आठ वर्षमा प्रदेशले अपेक्षित परिणाम पाएको छैन। त्यसैले मैले सामूहिक रूपमा हामी सबै जनप्रतिनिधि असफल भएका छौं भनेर स्वीकार गर्ने संकेतस्वरूप विरोध गरेको हुँ।”

उनका अनुसार मुख्यमन्त्री सोनलले ५४ मतको आधारमा विश्वासको मत लिने तयारी गरे पनि अन्सारीले आफ्नै दलको निर्णयविरुद्ध गएर पनि विश्वासको मत दिन अस्वीकार गरे। “मलाई पार्टीका शीर्ष नेताबाटसमेत दबाब आयो, तर म आफ्नो अडानबाट पछि हटिनँ,” उनले भने।

अन्सारीले प्रदेश प्रमुखले सोमबार बिहानै होटलमा नयाँ मुख्यमन्त्रीलाई शपथ गराएको प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्।उनले बताए, “संविधानको धारा १६८ उपधारा २ अनुसार विश्वासको मत असफल भएको स्पष्ट नबनाई उपधारा ३ मा गएर मुख्यमन्त्री नियुक्त गर्ने निर्णय संविधानसम्मत प्रक्रियाविपरीत छ।”

अन्सारीले मधेसमा निर्णय क्षमता प्रदेशसभा र प्रदेश नेतृत्वमै हुनुुपर्ने बताए।“मत कसले दिने, कसले नदिने—यो निर्णय प्रदेशसभावाट हुनुपर्छ। तर केन्द्रबाट फोन गरेर निर्देशन दिनु संघीयताको आत्मामाथि अपमान हो,” उनले भने।

उनले प्रदेशमा अब कानुनी र संवैधानिक लडाइँ अघि बढ्ने बताएका छन्।“उपधारा ३ सम्म पुगिसकेपछि अन्य उपाय असफल भए भने संविधान स्वयं प्रदेशसभा विघटन र ताजा जनादेशको व्यवस्था गर्छ। यो संघीयताविरोधी होइन, प्रक्रियागत स्थिति हो,” अन्सारीले स्पष्ट पारे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय