जनकपुर,२५ कातिक । सिरहा सदरमुकामस्थित कारागारमा एक कैदीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। चोरी मुद्दामा सजाय भोगिरहेका मिर्चैया नगरपालिका–८ निवासी करिब ३० वर्षीय प्रमेश्वर सदामाथि आइतबार राति कारागारभित्र कुटपिट भएको स्रोतहरूले जनाएका छन्।
गम्भीर रूपमा घाइते भएका सदालाई घटनापछि तुरुन्त उपचारमा नल्याई भोलिपल्ट सोमबार अपराह्न मात्रै प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको हो। अस्पतालमा प्रहरीको कडा निगरानीमा उनको उपचार भइरहेको छ, तर सञ्चारकर्मीलाई भेट्न दिइएको छैन।
अस्पतालका चिकित्सकका अनुसार सदाका टाउको, पिठ्युँ र शरीरका विभिन्न भागमा पाइप तथा डन्डा प्रहार भएको छ। शरीरभरि निलडाम देखिएको बताइएको छ।”अवस्था बिग्रिएपछि मात्र अस्पताल ल्याइएको हो,” एक चिकित्सकले भने, “यस्ता घटनामा उपचार ढिलो गरिने र घटना लुकाउने प्रवृत्ति देखिने गरेको छ।”
यसपटक पनि कारागार प्रशासन घटनालाई सामान्य घटना भन्दै बाहिर नल्याउन दबाब दिएको आरोप छ। जेलर सुबोध महतोले कुटपिटबारे विस्तृत जानकारी दिन अस्वीकार गर्दै घटनालाई “सामान्य” भनेका छन्।”मिडियामा आएपछि विषय ठूलो देखिन्छ, यसलाई बाहिर नल्याइदिनुपर्छ,” उनले भने।
तर, कुटपिट कसले र किन गरियो भन्ने विषयमा कारागार प्रशासन मौन छ। प्रहरी प्रशासनले पनि घटनाबारे स्पष्ट जानकारी नभएको प्रतिक्रिया दिएको छ।
स्थानीय मानव अधिकारकर्मीहरू भने घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरिरहेका छन्।



