रौतहट,२५ कातिक । करार र दैनिक ज्यालादारी कर्मचारीले बक्यौता तलब–भत्ता भुक्तानीको माग गर्दै गरेको तालाबन्दी १५ दिनपछि रौतहटको कटहरिया नगरपालिकामा खुलेको छ ।
सोमबार साँझ वडाअध्यक्षहरू र नगर कार्यपालिकाका सदस्यहरूले मेयर अजय प्रकाश जैसवाललाई तलब निकासा तत्काल गर्नुपर्ने सर्तमा तालाबन्दी खोल्ने निर्णय गरेका हुन् । वडाअध्यक्ष चन्दन कुशवाहाका अनुसार, मेयरले समस्या समाधानमा ध्यान नदिएको भन्दै सबै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरू एकमत भएर यस्तो निर्णय गरेका हुन् ।
कार्यपालिका सदस्य मनोज कुमार जैसवालले मेयरले बोलाउने आगामी बैठकमा कुनै पनि प्रस्तावमा हस्ताक्षर नगर्ने सहमति भएको बताए । उनले भने, “पहिले तलब निकासाको प्रक्रिया अघि नबढाएसम्म अन्य एजेन्डामा सहमति हुनेछैन भन्ने हाम्रो निर्णय छ ।”
नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि पहिलो प्राथमिकतामा कर्मचारीको तलब भुक्तानी गर्ने सहमति बनेको हो ।
तालाबन्दीका कारण करिब दुई सातादेखि नगरपालिकाका अत्यावश्यक सेवा — नागरिकता सिफारिस, सामाजिक सेवा, राजस्व संकलनलगायतका कार्यहरू ठप्प भएका थिए । ताला खुलेसँगै आजदेखि ती सेवाहरू पुनः सुचारु भएका छन् ।



