जनकपुर,२५ कातिक । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध महाभियोग प्रस्ताव दर्ता भए पनि त्यसको सामना गर्न तयार रहेको बताएका छन् ।
मंगलबार जनकपुरमा संचारकर्मीहरूसँग कुरा गर्दै सभामुख मण्डलले महाभियोग लगाउने वा नलगाउने कुरा सांसदहरूको स्वतन्त्र अधिकार भएको बताए । उनले भने, “यदि ममाथि महाभियोग प्रस्ताव आउँछ भने म त्यसको सामना गर्न तयार छु । जनताको विश्वास लिएर आएको व्यक्ति डराएर पदमा बस्दिन ।”
गत शनिबार मण्डलले दलका कार्यकर्ताजस्तै ढङ्गले प्रदेशसभा सञ्चालन गरेको आरोप लागेपछि उनी विवादमा आएका थिए । सो घटनालाई लिएर सभामुखविरुद्ध महाभियोगको चर्चा चलेको छ ।
पदभन्दा जिम्मेवारी ठूलो भएको उल्लेख गर्दै मण्डलले कमजोरी देखिए राजीनामा दिन पनि पछि नपर्ने बताए । “पद मेरो लागि ठुलो कुरा होइन,” उनले भने, “यसअघि पनि आवश्यकता परेको बेला पदबाट राजीनामा दिएको थिएँ । सांसदहरूले कारणसहित आग्रह गरे भने यसपालि पनि विचार गर्न सक्छु ।”
तर, उनले शनिबारको घटनालाई अनावश्यक रूपमा इस्यु बनाए सांसदहरू आफैं कारबाहीको दायरामा पर्न सक्ने चेतावनी दिए ।




