जनकपुर,२५ कातिक । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको आरोप लगाउँदै ७४ जना प्रदेशसभा सांसदहरू रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।
रिट दायर गर्न पुगेका सांसदहरूमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयलुन रायनसहितका नेताहरू छन् ।
कांग्रेस संसदीय दलका नेता यादवका अनुसार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गठन गरिएको सरकार संवैधानिक व्यवस्थाविपरीत भएकाले आफूहरू न्यायको खोजीमा सर्वोच्च अदालत पुगेका हुन् । “मुख्यमन्त्री नियुक्ति प्रक्रिया संविधानविपरीत भएकाले ७४ सांसदहरू मिलेर रिट दायर गरेका छौं,” यादवले भने ।




