काठमाडौँ,२५ कातिक । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनमा विद्युतीय भोटिङ मेसिन (EVM) प्रयोग गर्न पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले सुझाव दिएका छन् । सोमबार निर्वाचन आयोगले पूर्वप्रमुख आयुक्त, आयुक्त र पूर्वसचिवहरूसँग गरेको छलफलमा सरोकारवालाहरूले यस्तो सुझाव दिएका हुन् ।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जङ्गबहादुर राणा, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वआयुक्त दोलखबहादुर गुरुङ, पूर्वसचिव सुरेश अधिकारीलगायतको सहभागिता रहेको थियो ।
पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले छलफलमा निर्वाचन तयारी, प्रविधिको प्रयोग र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चितताबारे विस्तृत कुराकानी भएको जानकारी दिए । “आयोग परम्परागत ढाँचामा निर्वाचन गर्न तयार देखिन्छ, तर प्रविधि प्रयोगतर्फ अघि बढ्न आवश्यक तयारी गर्नुपर्ने देखिन्छ,” उप्रेतीले भने ।
उनका अनुसार, विद्युतीय भोटिङ मेसिन प्रयोग गरेमा निर्वाचन खर्च कम हुने र नतिजा चाँडो आउने फाइदा हुनेछ । साथै, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अवसर दिलाउने कानुनी र प्राविधिक पूर्वाधार तयार गर्नुपर्ने सुझाव पनि छलफलमा उठाइएको थियो ।
उप्रेतीले थपे, “विदेशमा रहेका नेपालीलाई पनि मतदान गर्ने अवस्था मिलाउनुपर्छ । अहिले कानुन बनेको छ, त्यसको कार्यान्वयनका लागि नियमावली बनाउन आवश्यक छ ।”
छलफलमा सहभागीहरूले शान्ति–सुरक्षा, राजनीतिक दलहरूको सहभागिता र मतदाता अभिप्रेरणका चुनौतीबारे पनि आयोगलाई सुझाव दिएका थिए ।




