काठमाडौँ,२५ कातिक । ऊर्जा मन्त्री कुलमान घिसिङ र जेनजी आन्दोलनबाट उदाएका सुदन गुरूङबीच सहकार्यको प्रयास असफल भएको छ । मंगलबार बिहान दुई पटक भएको छलफलमा सहमति नजुटेपछि दुवै पक्ष अलग–अलग बाटो रोज्ने भएका हुन् ।
कुलमानले आफू गठन गर्न लागिरहेको ‘उज्यालो नेपाल पार्टी’ मा सुदनलाई सहभागी हुन आग्रह गरे पनि पार्टीको नाम र नेतृत्वमा मतभेद भएपछि सहकार्य सम्भव नभएको सुदन निकट स्रोतले जनाएको छ । “कुलमान दाइले जेनजी आन्दोलनका मुद्दा समेट्ने लचिलोपन देखाउनुभएन, त्यसैले सहमति हुन सकेन,” स्रोतले भन्यो ।
सहमति टुटेपछि सुदन गुरूङले नयाँ राजनीतिक शक्ति गठनको तयारी अघि बढाएका छन् । उनका अनुसार, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठ समेत मिलेर नयाँ दल ‘नेपाल जनसेवा पार्टी’ गठन गर्ने तयारी भइरहेको छ ।
पार्टीको नेतृत्वमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्य भोजविक्रम थापालाई अघि सार्ने निर्णय भएको सुदनको टिमले जनाएको छ । “नेपाल जनसेवा पार्टी नाम प्रस्ताव गरिएको छ, र संयोजकमा भोजविक्रम थापा रहनेछन्,” सुदनका सहयोगीले जानकारी दिए ।
नयाँ दलमा बालेन–सुमना बाहेक कलाकार निश्चल बस्नेतको टिम र रास्वपाका पूर्वनेता गणेश कार्की पनि जोडिने तयारीमा छन् । यी दुवै समूहले मंगलबार वा बिहीबारसम्म निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने योजना बनाएका छन् ।
यता, ऊर्जा मन्त्री रहेकाले कुलमान घिसिङ तत्काल सक्रिय राजनीतिमा नजाने र ‘उज्यालो नेपाल पार्टी’ दर्ता प्रक्रिया पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा अघि बढाइने बताइएको छ ।
मेयर बालेन शाह भने तत्काल प्रत्यक्ष रूपमा जनसेवा पार्टीको गतिविधिमा देखिन नचाहने बताइएको छ । एक नेताका अनुसार, “बालेन महानगरको जिम्मेवारीमा रहेका कारण औपचारिक रूपमा देखिँदैनन्, तर राजनीतिक रणनीति समन्वयमा उनको भूमिका रहनेछ ।”




