काठमाडौं,२५ कातिक । नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले मधेस प्रदेशमा भएको पछिल्लो राजनीतिक घटनालाई लोकतान्त्रिक मूल्य र नैतिकतामाथिको गम्भीर अपमान भनेका छन्।
श्रेष्ठले सोमबार मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका नेता सरोजकुमार यादवलाई बर्दिबासस्थित एक होटल (पानस होटल)बाटै मुख्यमन्त्रीको रूपमा शपथ गराएको घटनाप्रति कडा आपत्ति जनाएका हुन्।
उनका अनुसार यस्तो कदमले देशमा लोकतान्त्रिक आचरण र राजनीतिक नैतिकताको अवमूल्यन भएको स्पष्ट संकेत दिएको छ। “यसरी होटलमा मुख्यमन्त्री बनाइने अभ्यासले जनआन्दोलन र जेन(जी आन्दोलनले दिएको चेतनालाई ठाडै बेवास्ता गरेको देखिन्छ,” श्रेष्ठले भने, “यो लोकतान्त्रिक अभ्यासमाथिको अपमान हो।”
श्रेष्ठले जेन(जी आन्दोलन)ले राजनीतिक दल र नेताहरूको शुद्धिकरण तथा रूपान्तरणलाई मूल मुद्दा बनाएको स्मरण गर्दै अहिले देखिएको प्रवृत्ति त्यही चेतनाको प्रतिकूल भएको बताए। उनका अनुसार राजनीतिक दलहरूले जनआन्दोलन र जेन(जी) बाट आएको सन्देशलाई अझै गम्भीर रूपमा नलिएको प्रमाण यही हो।
“राजनीतिक दल र नेताहरू अझै पनि पुरानै ढर्रामा चलिरहेका छन्,” उनले भने, “यदि यो सोच परिवर्तन भएन भने देशको राजनीतिक भविष्यका लागि यो अत्यन्तै घातक हुनेछ।” श्रेष्ठले अन्त्यमा सबै जेन(जी) आन्दोलनका सहभागीहरू र त्यसका सकारात्मक सन्देशलाई आत्मसात् गर्ने जनतालाई पुनः एकपटक राजनीतिक शुद्धता र रूपान्तरणका पक्षमा आवाज उठाउन आग्रह गरे।




