काठमाडौँ,२५ कातिक । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण कार्य दुई महिनापछि सुरु हुने जानकारी दिएका छन्।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा करिब १०० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए। उनले भने, “सिंहदरबारभित्रका महत्त्वपूर्ण संरचना पुनर्निर्माण कार्य अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु हुनेछ।”
खनालले जानकारी दिए अनुसार, पुनर्निर्माणका लागि स्थापना गरिएको कोषमा हालसम्म ८ करोड रुपैयाँ जम्मा भएको छ। उनले टुक्रिएका आयोजनाहरूको बजेट कटौती गरी हुलाकी मार्ग, मध्य पहाडी लोकमार्ग, बिपी राजमार्ग जस्ता रणनीतिक परियोजनालाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको बताए।
मन्त्री खनालले जेनजी आन्दोलनपछि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार र मापदण्ड प्रभावकारी बनाइएको पनि उल्लेख गरे। उनले आयकर घटे पनि समग्र राजस्व बढेको र पर्यटक आगमन प्रारम्भमा घटे पनि अहिले फेरि बढेको जानकारी दिए।
साथै उनले निजी क्षेत्रमा भएको क्षति पूर्ति गरी व्यावसायिक वातावरण सुधार्न सरकारले सबै सम्भव पहल गरिरहेको जानकारी पनि दिएका छन्।




