काठमाडौँ,२५ कातिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताका लागि जसपा अध्यक्ष अशोक राईलाई प्रस्ताव गरेका छन्।
२०७८ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भई अशोक राईले आफ्नो पार्टी गठन गरेका थिए। डेढ वर्षपछि यादवले राईसँग पार्टी एकताको पहल गरेका हुन्। घर फर्क अभियान अन्तर्गत यादवले पार्टीका शीर्ष नेताहरूलाई पठाएर राईसँग एकताको सम्भावित अवसरबारे प्रस्ताव गरेका हुन्।
जसपा महासचिव इस्तियाक राईले यस प्रस्तावलाई स्वीकार गर्दै भने, “एकता र सहकार्यका लागि प्रस्ताव आएको हो। जसपा नेपालका शीर्ष नेताहरू हामीसँग कुरा गर्न आएका छन्, त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ।” तर उनले जोड दिए कि जसपाको प्राथमिकता तत्काल एकता नभई मोर्चा निर्माण र कार्यगत सहकार्यमा छ। राईले भने, “विगतमा भएका एकता मधेसमा टिकेका छैनन्। अधिकार र पहिचानको मुद्दामा एक साथ लड्न मोर्चाबन्दी र कार्यगत एकता उत्तम माध्यम हुन सक्छ।”
उनले स्पष्ट पारे कि पार्टी हतारमा कुनै एकता गर्न नचाहेको र एकता तथा सहकार्यका लागि कार्यदल गठन गरिएको छ। अहिलेसम्म कुनै पनि पार्टीसँग एकता गर्ने विषयमा निर्णय भएको छैन। राईले सञ्चारमाध्यममा आएका “जसपा–नेकपा एकता” सम्बन्धी खबरहरू असत्य रहेको समेत बताए।
कात्तिक २० गते सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि एकता र सहकार्यबारे छलफल भएको थियो। आगामी कार्यकारिणी समितिको बैठकमा कुन पार्टीसँग एकता गर्ने वा नगर्ने विषयमा निर्णय हुने जनाइएको छ।
उपेन्द्र यादवले अशोक राईको पार्टीसँग मात्रै नभई महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालसँग पनि एकताका लागि पहल थालेको छन्। यादव र ठाकुरबीच नियमित छलफल भइरहेको छ। यससँगै तत्कालीन मधेसी जनअधिकार फोरम नेपालदेखि विभिन्न समयमा अलग भएका नेता र कार्यकर्ताहरूलाई जसपा नेपालमा फर्केर समावेश हुन आग्रह गरिएको छ।




