spot_img

गोकुल अपार्टमेन्टमा करोडौंको हेराफेरी: बैंकको ४७ करोड लगानी जोखिममा

spot_img
spot_img

वीरगंज, २५ कार्तिक – वीरगंजको घण्टाघर नजिक पानगल्लीमा निर्माण सम्पन्न भएको गोखुल अपार्टमेन्ट ठूलो कानुनी विवादमा फँसेको खुलासा भएको छ। फ्लाट खरिदकर्तादेखि लगानीकर्ता बैंकसम्मको लगानी जोखिममा परेको छ।

प्रदीप रुङ्गटाले निर्माण गरेको सो अपार्टमेन्टमा भतिज उमंग रुङ्गटाले अदालतमा पैतृक सम्पत्तिमा अंश दाबी गरेपछि विवाद चुलिएको हो। दुर्गादत्त रुङ्गटाको नाममा रहेको ३० कठा जग्गा तीन छोराबीच बराबर १०/१० कठा बाँडिनुपर्नेमा एक भाइले १५ कठा कब्जा गरेपछि नाती उमंगले अदालतमा न्याय माग्दै मुद्दा दायर गरेका हुन्।

उमंग रुङ्गटाका अनुसार हजुरबुबाको नाममा पर्नुपर्ने १० कठा जग्गामध्ये ५ कठा जग्गा उनका काकाहरुले जालझेल गरी हडपे र सोही जग्गामा गोखुल अपार्टमेन्ट निर्माण गरिएको हो। उनका अनुसार ७ कठा क्षेत्रमा बनेको अपार्टमेन्टको जग्गा समेत पैतृक सम्पत्तिमा पर्छ।

पर्सा जिल्ला अदालतले मिति २०८२ भदौ ११ गते भू–सुधार र मालपोत कार्यालय पर्सालाई सो जग्गा खरिद–बिक्री रोक्का गर्न आदेश जारी गरेको छ। अदालतले जग्गा विवादमा रहेको भन्दै बैंकमा रोक्का रहेको जग्गा फुकुवा भएपछि मात्रै नयाँ रोक्का लागु हुने गरी आदेश दिएको हो।

निर्माणकर्ता प्रदीप रुङ्गटाले भतिजको अंश अधिकारको जानकारी हुँदाहुँदै पनि जालझेल गरी जग्गा हडप्ने प्रयास गरेको देखिन्छ। दुर्गादत्तका तीन छोरामध्ये बिश्वनाथ रुङ्गटाले माइलो दाइको ५ कठा जग्गा आफ्नो नाममा मिलाएको आरोप उमंगले लगाएका छन्।

विवादित जग्गामा निर्माण भएको अपार्टमेन्टमा एनसिसि बैंक (हाल कुमारी बैंक)ले ठूलो लगानी गरेको छ। रुङ्गटाले बैंकलाई झुक्याउँदै विभिन्न नाममा ऋण स्वीकृत गराएको आरोप पनि छ। बैंकमा करिब ५० करोडको सम्पत्ति देखाएर ४७ करोड ऋण लिएको प्रमाणहरू देखिएका छन्।

एनसिसि बैंक कुमारी बैंकसँग गाभिएपछि, नयाँ व्यवस्थापनले सो लगानीको विवरण माग्दा अपार्टमेन्टका कागजात अपूर्ण देखिएपछि आठ महिनासम्म ऋण रोक्का गरेकाे थियाे ।

बैंकको धितोबन्धक लिखत २०७८ भदौ ३१ गतेको भए पनि अपार्टमेन्टले त्यसअघि नै २०७८ भदौ २५ गते ४१ करोड ३० लाख रुपैयाँ ऋण लिएर सोही दिन प्रदीप रुङ्गटाको खातामा पठाएको प्रमाणले अपार्टमेन्टको निर्माणमा ठूलो आर्थिक जालझेल भएको पुष्टि गर्छ।

हाल भू–सुधार तथा मालपोत कार्यालय पर्सालाई समेत आर्थिक प्रलोभनमा पारी लुज श्रेस्ता कायम गराई फ्लाट बिक्रीको अनुमति लिइएको आरोप छ।

देशको आर्थिक संकटका बीच वीरगंजमा निर्माण भएका अन्य अपार्टमेन्टहरूजस्तै गोखुल अपार्टमेन्ट पनि बजारमा असफल बन्दै गएको छ। विवादित जग्गा, बाटो नहुने समस्या र ग्राहकहरूको अनिच्छाका कारण अपार्टमेन्टका फ्लाटहरू अहिलेसम्म बिक्री हुन सकेका छैनन्। दलालहरूको सक्रियता र मूल्य घटाएर बिक्रीको प्रयास गरे पनि माग कमजोर देखिएको छ। हाल ठूला फ्लाटलाई साना युनिटमा रूपान्तरण गरी वीरगंजबाहिरका ग्राहकहरूलाई आकर्षित गर्ने प्रयास भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय