बीरगन्ज,२६ कार्तिक । नेकपा (एमाले) सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पार्टीभित्र कुनै पनि प्रकारको भ्रष्टाचार, कमिसनखोरी र अनुशासनहीनता सह्य नहुने स्पष्ट चेतावनी दिएका छन्।
मङ्गलवार सखुवा प्रसौनी गाउँपालिका–स्थित एकडेरवा टोलमा आयोजित गाउँपालिका स्तरीय जनसभामा बोल्दै यादवले हालै लिची बगान जग्गा घोटालामा संलग्न भएको आरोप लागेका पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई कठोर शब्दमा आक्रमण गरे।
उनले भने, “एमाले सिद्धान्त, इमान र जनताको विश्वासमा ठाडो पार्टी हो। यहाँ भ्रष्ट र कमिसनखोरको लागि कुनै ठाउँ छैन। जसले पार्टीको प्रतिष्ठा घटाउँछ, त्यस्ता व्यक्तिलाई अब हामीले सहने छैनौं।”
अध्यक्ष यादवले पार्टीभित्र शुद्धीकरणको आवश्यकता औंल्याउँदै थपे, “यदि पार्टीले राजकुमार गुप्ताजस्ता पात्रलाई पुनः अवसर दिन खोज्यो भने हामी सडकदेखि संगठनसम्म आवाज उठाउनेछौं। जनताले अब यस्ता अनुशासनहीन नेताहरूलाई स्वीकार गर्दैनन्।”
जनसभामा प्रदेश कमिटी सदस्य मन्जुर अन्सारी, जिल्ला कमिटी सदस्य जसवन्त यादवलगायतका नेताहरू उपस्थित थिए। कार्यक्रममा स्थानीय विकास, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिबारे समेत विस्तृत छलफल भएको थियो।
लिची बगान घोटाला र गुप्ताविरुद्धको मुद्दा
पूर्वमन्त्री राजकुमार गुप्तामाथि पोखराको लिची बगान जग्गा घोटालामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, गुप्ताले भूमि आयोग अध्यक्ष नियुक्ति र राजस्व कार्यालय प्रमुखको सरुवा रोक्ने नाममा ७८ लाख रुपैयाँ घूस लिएको अडियो प्रमाणसहित मुद्दा दायर गरिएको हो। अडियो सार्वजनिक भएपछि उनले तत्काल मन्त्री पदबाट राजीनामा दिएका थिए।
मुद्दामा अख्तियारले गुप्तासहित सात जनाविरुद्ध समान रकम फिर्ता र जरिवानाको माग गरेको छ। उक्त प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि प्रमुख अभियुक्तको रूपमा नामिएका छन्।
हाल गुप्ताले अडियो आफूसँग सम्बन्धित नभएको दाबी गर्दै आएका छन्। तर अख्तियारले प्रमाणिक परीक्षणपछि अडियोमा रहेको स्वर गुप्ताकै भएको पुष्टि गरेको जनाएको छ।




