spot_img

भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

spot_img
spot_img

काठमाडौं,२६ कार्तिक। नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा समाहित हुँदैछ।

गत आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहितका शीर्ष नेताहरूसँगको अन्तिम छलफलपछि रावल समूहको अभियानलाई पार्टीमा विलय गर्ने सहमति भएको थियो। पार्टी एकीकरणको औपचारिक घोषणा आज दिउँसो काठमाडौंमा हुने “बृहत् पार्टी समायोजन कार्यक्रम” मार्फत गरिनेछ।

नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार कार्यक्रममा पार्टीका शीर्ष नेतासहित प्रदेश, जिल्ला संरचना, रावल समूहका प्रतिनिधि र विभिन्न राजनीतिक दलका पर्यवेक्षकहरूको उपस्थिती रहनेछ। उनले भने, “रावलज्यूको अभियानले उठाएका राष्ट्रियता, सुशासन र स्वच्छ राजनीति सम्बन्धी एजेन्डा हाम्रो पार्टीको नीतिसँग मेल खान्छ। यो समायोजनले वाम आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनेछ।”

भीम रावलले पछिल्ला केही महिनादेखि एमाले नेतृत्वको नीतिगत विचलन, पार्टीभित्रको अनुशासन ह्रास र राष्ट्रिय स्वाधीनता मुद्दामा मौनताप्रति असन्तुष्टि जनाउँदै ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरेका थिए। अभियानमार्फत उनले “स्वच्छ राजनीति, राष्ट्रिय स्वाभिमान र जनजीविकाको सुरक्षाका लागि नयाँ राजनीतिक वैकल्पिक दिशा आवश्यक” रहेको बताउँदै आएका थिए।

पार्टी स्रोतका अनुसार, विलयपछि रावललाई नवगठित संरचनामा वरिष्ठ जिम्मेवारी दिइने तयारी छ। उनी पार्टीको नीति तथा मार्गदर्शन विभागको प्रमुख पदमा रहने सम्भावना पनि उच्च रहेको बताइएको छ। कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूको उपस्थिति रहनेछ।

राजनीतिक विश्लेषकहरूका अनुसार, भीम रावलको समायोजनले वाम एकताको पुनः सम्भावनालाई बल दिएको छ। उनीहरू भन्छन्, “रावलजस्तो विचारशील र संगठनमुखी नेताको पुनः समायोजनले नेपाली वाम राजनीतिलाई वैचारिक एकता र स्थायित्वको सन्देश दिनेछ।”

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय