spot_img

पर्सामा १ हजार ६९७ मिटरब्याजका मुद्दा मेलमिलापमार्फत टुङ्गिए

spot_img
spot_img

बीरगन्ज,२६ कातिक । मिटरब्याज (अनुचित लेनदेन) विरुद्धको अभियानअन्तर्गत पर्सा जिल्लामा हालसम्म १ हजार ६९७ मुद्दा मेलमिलापमार्फत समाधान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार, जिल्लाभरबाट कुल २ हजार ३६७ वटा उजुरी परेका थिए, जस मध्ये ६३५ उजुरी अझै फछ्र्योट हुन बाँकी छन्। उनका अनुसार, मेलमिलाप प्रक्रियाबाट रु २९ करोड १२ लाख ८५ हजार ५९७ बराबरको बिगो फिर्ता भएको र ४० बिघा १५ कट्ठा १९ धुर जग्गा पुनःपीडितको नाममा फिर्ता गरिएको छ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले अझै पनि साहुकारहरूको शोषणकारी व्यवहार नरोकेको आरोप लगाए। उनले भने, “रु एक लाख ऋण दिएर तीन लाखसम्मको तमसुक बनाउने प्रवृत्ति अझै अन्त्य भएको छैन। धेरै पीडितले अझै न्याय पाएका छैनन्।”

त्यस्तै, पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि रु १ लाख १० हजार ऋण लिएकोमा साहुकारले रु ३ लाख ३० हजारको तमसुक बनाएको गुनासो गरे। “सरकारले यस्ता गतिविधि नियन्त्रणमा कडाइका साथ लाग्नुपर्छ,” उनले जोड दिए।

प्रहरीका अनुसार, बाँकी उजुरीहरूलाई पनि वार्ता र कानूनी माध्यमबाट छिटो निष्पत्ति गर्ने तयारी भइरहेको छ। प्रवक्ता बस्नेतले भने, “मिटरब्याजका नाममा हुने शोषण अब सह्य छैन। पीडितले आत्मविश्वासका साथ उजुरी दिनुहोस्, प्रहरी कानूनी रूपमा सहयोग गर्न तयार छ।”

स्थानीय प्रशासनले मिटरब्याजमुक्त समाज निर्माणका लागि निरन्तर अभियान सञ्चालन गरिरहेको जनाएको छ। यससँगै, पर्सा जिल्लामा मिटरब्याजका नाममा भएका दशकौँ पुराना विवाद समाधानतर्फ अघि बढ्न थालेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय