spot_img

एकैदिन २३ हजार बढी नयाँ मतदाता दर्ता, चाप बढेपछि निर्वाचन आयोगले ल्यायो ‘दुई सिफ्ट’ प्रणाली

spot_img
spot_img

काठमाडौँ, २६ कात्तिक। आगामी निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नाम दर्ता अभियान तीव्र बनेको छ। निर्वाचन आयोगका अनुसार असोज १० गतेदेखि मंगलबारसम्म २ लाख ९ हजार ५५२ नयाँ मतदाता नामावलीमा दर्ता भएका छन्।

केवल मंगलबारको दिनमै २३ हजार ६३८ जनाले नाम दर्ता गराएका छन् — जसमा १३ हजार ६६ पुरुष, १० हजार ५६७ महिला र ५ अन्य लिङ्गका मतदाता छन्।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतदाता नामदर्ताका केन्द्रहरूमा अत्यधिक भीड बढेपछि सेवा सहज बनाउन नयाँ व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार, दैनिक ८०० भन्दा बढी नाम दर्ता हुने जिल्लाहरूमा अब ६–६ घण्टाका दुई सिफ्टमा सेवा उपलब्ध गराइनेछ। यसरी दैनिक १२ घण्टा सेवा सञ्चालन हुने भएको हो।

यसका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना कर्मचारी खटाइने आयोगले जनाएको छ।

अन्य जिल्लाहरूमा भने सेवाग्राहीको चाप अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत थप जनशक्ति खटाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको छ।

निर्वाचन आयोगले मतदाता दर्ता अभियानलाई सुदृढ, पारदर्शी र सहज बनाउन स्थानीय तह र सुरक्षासंस्थानसँग पनि समन्वय गर्दै कार्य अघि बढाइरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय