काठमाडौं,२६ कातिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दायर गरेको दल विभाजन रोक्न सम्बन्धी रिटको सुनुवाइ आज (बुधबार) सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ। सुनुवाइका लागि न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र मेघराज पोखरेलको इजलास तोकिएको हो।
राउतले दायर गरेको रिटमा यसअघि नै सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै नयाँ दल दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको थियो।
उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएपछि राउत सर्वोच्च पुगेका हुन्। उनीहरूले “जनस्वराज पार्टी” नाममा दल दर्ता गराउन माग गरेका थिए। तर अन्तरिम आदेशपछि आयोगले सो निवेदनको सनाखत प्रक्रिया रोकिएको छ।
राउतले आफ्नो रिटमार्फत निर्वाचन आयोगलाई समेत विपक्षी बनाउँदै जनमत पार्टी विभाजन रोक्न र अलग्गै दल दर्ता नगर्न आदेश जारी गर्न माग गरेका छन्।
जनमत पार्टीका ५२ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये केही असन्तुष्ट नेताहरूले छुट्टै राजनीतिक यात्रा थालेका छन्। यसअघि उपाध्यक्ष अब्दुल खान पनि पार्टीबाट अलग भइसकेका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीले ६ सिट जित्दै राष्ट्रिय पार्टीको हैसियत प्राप्त गरेको थियो। हाल पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ।




