चितवन,२६ कात्तिक । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले सरकारले आगामी फागुन २१ गतेका लागि प्रस्तावित निर्वाचन गराउने तयारीमा नभएको टिप्पणी गरेका छन्।आज (बुधबार) चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक, प्राविधिक र कानुनी दृष्टिले हेर्दा सरकार चुनावको बाटोतिर अघि नबढेको स्पष्ट देखिएको बताए।
उनका अनुसार अबको १० देखि १५ दिनभित्र चुनाव हुने वा नहुने भन्ने प्रस्ट संकेत आउनेछ।पाण्डेले भने, “राजनीतिक दलका शीर्ष नेताहरूबीच संवाद छैन, सरकारले कसैलाई विश्वासमा लिन सकेको छैन। प्राविधिक तयारी पनि छैन, मनोवैज्ञानिक रूपमा समेत सरकार चुनाव गराउन सक्षम देखिँदैन।”उनले अहिलेको राजनीतिक अवस्था निकै तरल र अनिश्चित रहेको बताउँदै भने, “यदि फागुन २१ मा चुनाव भयो भने पनि त्यसले स्थायी राजनीतिक निकास दिन सक्ने अवस्था छैन।”
पाण्डेले एमाले चुनावबाट कहिल्यै नभाग्ने स्पष्ट पार्दै पार्टीले संसद् पुनर्स्थापना र सम्भावित निर्वाचन दुवैका लागि तयारी गरिरहेको जानकारी दिए। उनले भने, “एमालेले राष्ट्रपति, प्रधानमन्त्री र निर्वाचन आयोगका बैठकहरूमा सहभागिता जनाएको छ, तर सरकारको औपचारिकताले मात्रै काम चल्दैन।”
पाण्डेले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सरकारको प्रस्तावलाई सकारात्मक भने पनि त्यससँग जोडिएका कानुनी र प्राविधिक जटिलताहरूको समाधान सरकार र आयोगले नगरेको टिप्पणी गरे।
संविधान संशोधन र राजनीतिक निकास
संविधान संशोधन वा नयाँ राजनीतिक सहमतिको आवश्यकता रहेको बताउँदै पाण्डेले भने, “अहिलेकै संविधान अनुसार चुनाव गर्ने, संशोधनपछि गर्ने वा नयाँ संविधानमार्फत जाने — यी सबै विचारहरू बिखरिएका छन्। सही राजनीतिक निकासका लागि प्रमुख दलहरू एकै ठाउँमा आउनैपर्छ।”
अर्को प्रसङ्गमा उनले २३ भदौमा भएको घटनाको जिम्मेवारीबाट तत्कालीन सरकार पन्छिन नहुने बताए। उनले २४ भदौको घटना पनि सोही घटनासँग प्रत्यक्ष सम्बन्धित र अक्षम्य अपराध भएको उल्लेख गर्दै दुवै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे।
आगामी एमाले महाधिवेशनमा प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने जानकारी दिँदै पाण्डेले भने, “एमालेको रौं–रौंमा लोकतान्त्रिक संस्कार बसिसकेको छ। नेतृत्व कसरी अघि बढ्छ भन्नेबारे अब केही समयमै स्पष्ट हुनेछ।”
उनका अनुसार एमालेले पार्टीभित्र सुदृढ संगठन, लोकतान्त्रिक अभ्यास र नयाँ पुस्ताको नेतृत्व विकासमा जोड दिनेछ।




