जनकपुर,२६ कातिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेश प्रदेशमा संविधानविपरीत सरकार गठन गरिएको भन्दै कडा आपत्ति जनाएको छ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति संविधान र लोकतान्त्रिक मूल्यविपरीत भएको छ, जसले प्रदेशको राजनीतिक मर्यादामा गम्भीर आघात पुर्याएको छ।”
लोसपाले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै संविधान अनुसार मात्र सरकार गठन गर्नुपर्ने जोड दिएको छ।
साथै, जनकपुरधाममा प्रदर्शनका क्रममा पार्टीका नेता र कार्यकर्ता घाइते भएको घटनामा प्रहरीले गरेको बल प्रयोगप्रति पनि आपत्ति जनाइएको छ। प्रेस विज्ञप्तिमा दमन तत्काल रोक्न र दोषी प्रहरीमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरिएको छ।
पार्टीले घाइते नेताहरूको स्वास्थ्य लाभको कामना गर्दै घटनाको भर्त्सना गरेको उल्लेख गरेको छ।
यस घटनाले मधेश प्रदेशको राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रक्रियामा तनाव उत्पन्न भएको बताउँदै, लोसपा सरकारले संवैधानिक मार्गमै अघि बढेर राजनीतिक विवाद समाधान गर्नुपर्ने आग्रह गरेको छ।




