काठमाडौं,२६ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीले आसन्न निर्वाचनबारे आजकै केन्द्रीय कार्यसमिति बैठकबाट ठोस निर्णय गर्नुपर्ने सुझाव दिएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै यादवले आगामी २१ फागुनका लागि तय गरिएको निर्वाचनबारे अब ढिलाइ नगरी निर्णयमा पुग्नुपर्ने बताएका हुन् । उनका अनुसार, “निर्वाचनको विषयमा अन्योल बढ्दै गएको छ, त्यसैले आजकै बैठकबाट स्पष्ट निर्णय आवश्यक छ ।”
यादवले पार्टीभित्र नयाँ नेतृत्वको माग गरिरहेका नेताहरूलाई पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा अघि बढ्न सकिने बताए । उनले भने, “सबैजना नयाँ अनुहारको खोजीमा हुनुहुन्छ भने कार्यवाहक सभापति खड्का नै त्यसका प्रतिनिधि हुन् । उहाँजस्तो निष्कलंक र दागरहित नेता पार्टीमा कोही छैन भन्न सकिन्छ ।”
उनले स्मरण गराए कि गत १८ कात्तिकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेपछि आफूले त्यसको ‘काउन्टर’ प्रस्ताव अघि सारेका थिए ।
बैठकमा सहभागी नेताहरूका अनुसार, यादवको वक्तव्यले कांग्रेस नेतृत्वबीच आसन्न महाधिवेशन र निर्वाचनको समयसीमा सम्बन्धी छलफललाई थप तीव्र बनाएको छ ।




