काठमाडौं,२६ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले देश र लोकतान्त्रिक व्यवस्थाको स्थायित्वका लागि पार्टीको महाधिवेशनभन्दा आसन्न प्रतिनिधिसभा निर्वाचन नै महत्वपूर्ण भएको बताएका छन् ।
बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै निधिले २१ फागुनमा तय भएको निर्वाचनमा कांग्रेस नजाने हो भने देशको राजनीतिक व्यवस्था नै जोखिममा पर्ने चेतावनी दिएका हुन् । उनले भने, “२४ भदौको घटनालाई बुझ्न नसकेर र राजनीतिलाई सही दिशामा नपुर्याएर हामीले यदि चुनावमा भाग लिएनौं भने व्यवस्था नै रहँदैन ।”
निधिले २४ भदौको घटनालाई “दर्दनाक र शर्मनाक राजनीतिक मोड” भन्दै त्यसबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार, अहिलेको सन्दर्भमा महाधिवेशनभन्दा देशलाई लोकतान्त्रिक ट्रयाकमा राख्ने निर्वाचन नै मुख्य प्राथमिकता हुनुपर्छ ।
“देश र व्यवस्थाको रक्षणका लागि कुन कुरा महत्वपूर्ण हो—कांग्रेस महाधिवेशन कि लोकतान्त्रिक पुनर्स्थापनाको निर्वाचन ? मेरो बुझाइमा अहिले निर्वाचन नै राजनीतिक रूपले सबैभन्दा महत्वपूर्ण छ,” निधिले बैठकमा भने ।
उनले स्मरण गरे कि २३ भदौमा बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा आफूले सभापति शेरबहादुर देउवालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेर सरकारबाट बाहिरिन सुझाव दिएका थिए ।
“त्यतिबेला मैले सभापतिज्यूलाई भनेको थिएँ—देश, व्यवस्था र कांग्रेस तीनै संकटमा छन् । अब ओलीजीलाई फोन गरेर सरकारबाट कांग्रेस निस्किन्छ भन्ने निर्णय सार्वजनिक गरौं,” निधिले पुरानो प्रसंग स्मरण गरे ।
निधिले राजनीतिक निकासका लागि सर्वदलीय सरकार गठनको पहल गर्नुपर्ने सुझाव पनि बैठकमा राखे । उनका अनुसार, प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि मात्र कांग्रेसको महाधिवेशन गरिनु उचित हुनेछ ।




