spot_img

जगदम्बा र त्रिवेणीले बुझाए पहिलो किस्ताको विद्युत् महसुल, उद्योगमा पुनः आपूर्ति सुरु

spot_img
spot_img

बीरगन्ज,२७ कातिक । बाराको सिमरा र पर्साको बीरगन्ज औद्योगिक क्षेत्रमा रहेका दुई ठूला उद्योग जगदम्बा स्टिल र त्रिवेणी स्पिनिङ उद्योगले लामो विवादपछि अन्ततः विद्युत् महसुलको पहिलो किस्ता बुझाएका छन्।

बुधबार साँझ करिब ४ बजे, जगदम्बा स्टिलले आफ्नो कुल १ अर्ब ६० करोड रुपैयाँ मध्ये ५ करोड ७२ लाख रुपैयाँ बुझायो भने, त्रिवेणी स्पिनिङ उद्योगले ३२ करोड ९ लाख रुपैयाँ मध्ये १ करोड १४ लाख रुपैयाँ पहिलो किस्ताका रूपमा तिरेको हो।

सरकारले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्ने उद्योगहरूलाई २८ किस्तामा महसुल बुझाउने व्यवस्था गरेको थियो। तर, महसुल नबुझाएको भन्दै नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ गते यी दुवै उद्योगको ६६ हजार केभी क्षमताको प्रसारण लाइन काटेको थियो।

विद्युत् आपूर्ति बन्द भएको २२ दिनपछि उद्योगहरूले महसुल बुझाउने सहमति गरेका हुन्। सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेतीका अनुसार, “प्रधानमन्त्रीको उपस्थितिमा भएको उच्चस्तरीय छलफलपछि उद्योगीहरू महसुल बुझाउन तयार भएका हुन्।”

महसुल बुझाएसँगै, सिमरा वितरण केन्द्र र वीरगञ्ज वितरण केन्द्रका प्रमुखहरू रुमेश रुपाखेती र अवधेश कुमार दुवेले दुवै उद्योगमा विद्युत् आपूर्ति पुनः जडान गरिएको जानकारी दिएका छन्।

यसअघि पनि बारा–पर्सा औद्योगिक करिडोरभित्रका अन्य उद्योगहरू हुलास स्टिल, हामा आइरन, अशोक स्टिल लगायतले आफ्ना किस्ताको रकम बुझाइसकेका थिए।

यो कदमसँगै लामो समयदेखि रोकिएको औद्योगिक उत्पादन पुनः गतिमा आउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय