spot_img

गृहमन्त्रीले जिम्मेवारी निर्वाह नगर्ने हो भने मार्गप्रशस्त गर्नुपर्छ : प्रभु साह

spot_img
spot_img

काठमाडौँ,२७ कातिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गरेका छन्। उनले भदौ २३ गतेको जेनजी आन्दोलनमा युवामाथि भएको गोलीकाण्डका दोषीमाथि अहिलेसम्म कारबाही नगरेको भन्दै गृहमन्त्रीको कार्यक्षमता प्रश्नवाचक रहेको टिप्पणी गरेका हुन्।

बुधबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश विस्तारित बैठकलाई सम्बोधन गर्दै साहले भने, “यदि गृहमन्त्रीले जिम्मेवारी पूरा गर्न सक्दैनन् भने, उनलाई मार्गप्रशस्त गर्नुपर्छ।”

उनले चेतावनी दिँदै थपे, “जेनजी आन्दोलनका क्रममा युवामाथि गोली चलाउनेहरूलाई एक साताभित्र कारबाही नगरे गृहमन्त्रीलाई काठमाडौंबाहिर निस्कन नदिने आन्दोलन सुरु गर्नेछौं।”

साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि बयान किन लिइएको छैन भन्ने प्रश्न उठाउँदै भने, “जेनजी हत्याकाण्डमा बयानसम्म लिन नसक्ने सरकारले फागुनमा निर्वाचन गराउँछ भनेर कसरी विश्वास गर्न सकिन्छ?”

उनले जाँचबुझ आयोगको कामप्रति पनि असन्तुष्टि जनाए। “माथिबाट जिम्मेवारहरूमाथि अनुसन्धान गर्नुपर्ने ठाउँमा आयोगका पदाधिकारी जिल्ला भ्रमण र औपचारिक अवलोकनमा मात्र व्यस्त छन्,” उनले आरोप लगाए।

साहले जेनजी आन्दोलनमा मारिएका युवाहरूका परिवारका सदस्यलाई सरकारी रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग पनि गरे।

यस्तै, उनले हालका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि पनि प्रश्न उठाउँदै भने, “मन्त्री बनेको दुई महिना नबित्दै देवत्वकरण गरिएको कुलमानजीको बारेमा मिडियामा आएका विद्युत् खरिद सम्झौता र भ्रष्टाचारका आरोपहरूबारे स्पष्ट जवाफ दिनुपर्छ।”

साहले कुलमानले गैरदलीय सरकारमा रहँदै नयाँ दल गठन गर्ने गृहकार्य गरिरहेको दाबीसमेत गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय