काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ। अस्पतालले एकैपटक १० प्रकारका भाइरस परीक्षण गर्ने अत्याधुनिक प्रणाली सुरु गरेको छ।
वीर अस्पतालको मेडिकल जेनेटिक्स (आनुवंशिक) प्रयोगशालामार्फत सुरु गरिएको यो सेवा अन्तर्गत बिरामीको नमुनाबाट एउटै समयमा १० भाइरस परीक्षण गर्न सकिनेछ। विभाग प्रमुख डा. निलम ठाकुरका अनुसार यसअघि फरक–फरक परीक्षण गर्नुपर्दा समय र खर्च दुवै बढी हुने गरेका थिए।
“अब एउटै परीक्षणबाट कुन भाइरसका कारण रोग लागेको हो भन्ने पत्ता लाग्छ,” डा. ठाकुरले बताइन्, “यसले बिरामीलाई छिटो उपचार सुरु गर्न सहयोग पुर्याउनेछ।” उनका अनुसार यो प्रणालीले समय र खर्च दुवै बचत गर्नेछ, साथै पुनःपरीक्षणको आवश्यकता पनि कम हुनेछ। यससँगै मस्तिष्क सङ्क्रमणका ६ भाइरसको पनि एकैपटक परीक्षण गर्ने व्यवस्था सुरु गरिएको छ।
प्रयोगशालामा फोक्सो बाहेक शरीरका अन्य अंगमा लाग्ने क्षयरोगको परीक्षण पनि नियमित रूपमा भइरहेको डा. ठाकुरले बताइन्। सन् २०७३ मा स्थापना गरिएको यो आनुवंशिक प्रयोगशाला नेपालको एकमात्र सरकारी जेनेटिक परीक्षण केन्द्र हो। तर, हाल जनशक्ति र उपकरणको कमीका कारण दैनिक रूपमा परीक्षण गर्न कठिनाइ भइरहेको छ।
डा. ठाकुरका अनुसार प्रयोगशालामा हाल २५ प्रकारका आनुवंशिक रोगका भाइरसको परीक्षण गरिँदै आएको छ। परीक्षणहरू पालो अनुसार एक दिन बिराएर सञ्चालन हुने बताइएको छ।




