काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी र लुटिएका हतियार नियन्त्रणमा भारतको सहयोग औपचारिक रूपमा माग गरेको छ। भारतको नयाँदिल्लीमा हिजोदेखि सुरु भएको बैठकमा नेपाली पक्षले सीमापार अपराध, लागुऔषध तस्करी र फरार अपराधी नियन्त्रण लगायतका विषयमा गम्भीर चासो व्यक्त गरेको हो।
बैठकमा सहभागी सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण दुबै देशमा सुरक्षाको चुनौती बढेको बताउँदै “सीमापार सहयोग र समन्वय अझै मजबुत बनाउनुपर्छ” भन्नेमा जोड दिनुभयो।
भारतीय पक्षबाट सहभागी सशस्त्र सीमा बल (SSB) का महानिर्देशक सञ्जय सिंघलले नेपालका चिन्ताहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै “दुवै देशको सुरक्षामा कुनै कमजोरी नहोस् भनेर आवश्यक सहयोग गर्ने” वचन दिनुभयो।
बैठकमा नेपालले सीमाक्षेत्रमा हुने नेपाली नागरिकमाथिको दुर्व्यवहार, लुटपाट र अवैध लागुऔषध कारोबार रोक्न ठोस कदम चाल्न आग्रह गरेको छ। साथै, राजस्व छली नियन्त्रण र दुबै देशका सुरक्षाबलबीच तथ्याङ्क आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने प्रस्ताव पनि गरेको छ।
नेपाल–भारत सीमा सुरक्षासम्बन्धी यो बैठक भोलिसम्म चल्नेछ, जसमा यसअघिका निर्णयहरूको समीक्षा र आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने बताइएको छ।



