काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’ मर्मत र परीक्षण उडान सम्पन्न भएपछि पुनः व्यावसायिक उडानमा फर्किएको छ।
निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार विमानको इञ्जिन मर्मत र वार्षिक प्राविधिक जाँच पूरा भएपछि परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरिएको हो। “अब दुवै ट्वीनअटर विमान नियमित रूपमा उडानमा रहनेछन्,” उहाँले बताउनुभयो।
नेपाल एयरलाइन्सले मर्मत सम्पन्न विमानमार्फत २५ कात्तिकदेखि आन्तरिक उडान पुनः सञ्चालन गरेको छ। ट्वीनअटर जहाजहरू मुख्यतः पूर्वी र हिमाली दुर्गम क्षेत्रका विमानस्थलहरूमा नियमित सेवा दिइँदै आएका छन्।
निगमले यो पुनः सञ्चालनले दुर्गम क्षेत्रमा आवागमन सुगम हुने, स्वास्थ्य, शिक्षा तथा अत्यावश्यक सामग्री ढुवानीमा सरकारका कार्यक्रमहरूलाई सहज बनाउने विश्वास व्यक्त गरेको छ।




