बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्ध दायर मुद्दामा उच्च अदालत बुटवलमा बहस सुरु भएको छ।
न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा आजदेखि बहस प्रारम्भ भएको हो। लामिछाने र जोशीका पक्षका कानुन व्यवसायीहरू अदालतमा उपस्थित रहे। रविको तर्फबाट वरिष्ठ अधिवक्ता महेन्द्र पाण्डेय र अधिवक्ता नारायण कँडेललगायतका कानुन व्यवसायीले बहसमा भाग लिएका छन्।
उच्च अदालत बुटवलको तुलसीपुर इजलासमा आजका लागि तोकिएको यो मुद्दा एक नम्बर इजलासको पहिलो क्रमाङ्कमा परेकाे छ। यसअघि कात्तिक २० गते अदालतले प्रमाण मिसिल झिकाउने आदेश दिएको थियो। गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाएर आजको पेसीका लागि बहस तय गरेको थियो।




