काठमाडौँ,२७ कातिक । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनसँगै प्रभावित भएको शान्ति सुरक्षा हाल सामान्य अवस्थामा फर्किएको दाबी गरेका छन्। बिहीबार राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनले करिब दुई महिनामा शान्ति सुरक्षालाई व्यवस्थित बनाइएकाे जानकारी दिएका हुन्।
अर्यालका अनुसार आन्दोलनमा क्षति पुगेका नेपाल प्रहरीका ४६५ युनिटमध्ये ४४८ सञ्चालनमा आएका छन्। १० जिल्ला प्रशासन कार्यालय र ४ इलाका प्रशासन कार्यालयको सेवा पनि पुनः सुचारु गरिएको छ। उच्छृङ्खल गतिविधिमा संलग्न ४२९ जनालाई पक्राउ गरी १६८ मुद्दा दर्ता गरिएको बताइयो।
साथै, देशभरका कारागारबाट फरार भएका १४ हजार ५५४ कैदीमध्ये ९ हजार ५४१ फिर्ता ल्याइसकिएको र ५ हजार १३ कैदी अझै खोजीमा रहेको जानकारी उनले दिएका छन्। गृह मन्त्रालयले जेनजी युवा तथा जोखिममा रहेका व्यक्तिहरूलाई सहायता कक्षमार्फत सहजीकरण गर्दै आएको छ।




