जनकपुर,२७ कातिक । मधेस प्रदेश सभाका दुई सांसदमाथि पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा कारबाही प्रक्रिया सुरु गरिएको छ। नेकपा माओवादी केन्द्र, मधेस प्रदेश संसदीय दलले तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिने दिन पार्टीको निर्देशन विपरीत उभिएका प्रदेश सभा सदस्य रहबर अन्सारी र मालाकुमारी कर्णमाथि कारबाही अघि बढाएको हो।
माओवादी केन्द्र संसदीय दलका नेता भरत साहका अनुसार, पार्टीको ह्विप उल्लङ्घन गरी प्रदेश सभामा वितण्डा मच्चाउनु गैरसंवैधानिक तथा पार्टी अनुशासन विपरीत भएको देखिन्छ। त्यसैले दुवै सांसदलाई संगठनात्मक कारबाही प्रक्रिया अन्तर्गत साधारण सदस्यको दर्जासमेत खोसिने निर्णय गरिसकिएको छ।
साहले थपे, “केन्द्रीय समितिबाट आधिकारिक पत्र आएलगत्तै प्रदेश सभामा उनीहरूको पद खारेजका लागि सिफारिस गरिनेछ।”
यसअघि, यी दुई सांसदको निर्णयका कारण पाँच दलीय गठबन्धनको समर्थनमा बनेको लोसपा नेता जितेन्द्रप्रसाद सोनल नेतृत्वको सरकार ढलेको थियो। पार्टी ह्विपको विरोधमा उनीहरूले विश्वासको मत नदिने घोषणा गरेका थिए, जसपछि तत्कालीन मुख्यमन्त्री सोनललेै राजीनामा दिएका थिए।




