बीरगन्ज,२७ कातिक । बीरगन्ज महानगरपालिका वडा नं. ३१ मा स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउन सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको छ। सामाजिक संस्था “नमस्ते गुम्डा” को आर्थिक सहयोगमा चार स्थानमा शौचालय निर्माण गरिएको हो, जसमा दुई विद्यालय र दुई सार्वजनिक स्थल समावेश छन्।
करीब २४ लाख रुपैयाँ लागतमा निर्माण भएका शौचालयहरू सोलकपुर माध्यमिक विद्यालय र दलित आधारभूत विद्यालय मा विद्यार्थी र शिक्षकहरूको प्रयोगका लागि राखिएका छन् भने सोलकपुर चोक र लक्ष्मीपुर चोक मा सर्वसाधारणको प्रयोगका लागि उपलब्ध छन्।
संस्थाका प्रतिनिधि कृष्ण धरेल ले सार्वजनिक शौचालयको अभावले स्थानीय र आवत–जावत गर्नेहरूलाई असहज बनाएको उल्लेख गर्दै, प्राथमिकता अनुसार चार स्थानमा निर्माण गरिएको बताए। उनले स्थानीयलाई शौचालय संरक्षण र जिम्मेवारीपूर्वक प्रयोग गर्न आग्रह गरे।
हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र प्रसाद यादव ले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर शौचालय निर्माण गरिदिएकोमा संस्थालाई धन्यवाद ज्ञापन गरे। साथै पानी ट्यांकी, धारा र शौचालय निर्माणमा योगदान पुर्याएको उपलक्ष्यमा संस्थालाई सम्मान गरिएको थियो।
अध्यक्ष यादवले सफा र स्वस्थ समुदाय निर्माणमा यस्ता पहल उदाहरणीय भएको भन्दै आगामी दिनमा पनि सामाजिक संस्थासँग सहकार्य गर्दै विकासका कार्य निरन्तर हुने बताएका छन्।




