काठमाडौं,२७ कातिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री फरमुल्ला मन्सुर बोल्दा होहल्ला भएको छ। मन्सुरले आफूले यसअघि नै धारणा राखिसकेको बताएपछि अन्य नेताहरूले विरोध जनाएका थिए।
बैठक स्थलबाट प्राप्त अडियो क्लिपमा मन्सुर बोलिरहेका र अन्य नेताहरूको विरोधजन्य आवाज सुन्न सकिन्छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले ‘साथीहरू बसिदिनुस्’ भनी स्थिति नियन्त्रण गर्ने प्रयास गरेका थिए।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, “सहमहामन्त्री मन्सुरले दोहोर्याएर बोल्न थालेपछि अन्य नेताहरूले आपत्ति जनाएका थिए। पहिले बोलेको मान्छे अहिले बोल्न पाइदैन भन्ने विरोध व्यक्त गरिएको हो।”
सहमहामन्त्री मन्सुरले १९ कात्तिकमा बसेको बैठकमा आफ्नो धारणा प्रस्तुत गरिसकेका थिए। यसैबीच, उनी फेरि धारणा राखिरहेका थिए, जसका कारण बैठकमा असहमति र होहल्ला सिर्जना भएको हो।




