बीरगन्ज,२७ कातिक । डाबर नेपाल प्रा.लि. ले बीरगन्ज महानगरपालिका वडा नं. ३२ अन्तर्गत मनमिश्र आधारभूत विद्यालय लाई बेन्च र खानेपानी धारा (चापाकल) सहयोग गरेको छ।
विद्यालयमा पर्याप्त बेन्च नहुँदा विद्यार्थीहरू पठन–पाठनमा असुविधामा थिए। यसलाई ध्यानमा राख्दै डाबर नेपालले ३५ थान बेन्च र १ थान खानेपानी धारा विद्यालयलाई प्रदान गरेको हो।
बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा डाबर नेपालका प्रबन्धक आलोक कुमार दुवे ले सामग्री प्रधानाध्यापक राजाराम साह लाई हस्तान्तरण गरेका थिए। दुवेले डाबर नेपालले समुदाय र शैक्षिक संस्थाको आवश्यकता अनुसार सहयोग गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक साहले विद्यार्थीहरूको सहज पठन–पाठन सुनिश्चित गर्न सामग्री सहयोग गरेकोमा कम्पनीप्रति धन्यवाद ज्ञापन गरे र आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गरे।
कार्यक्रममा डाबर नेपालका मानव संसाधन विकास प्रमुख आशुतोष यादव, वडा नं. ३२ का वडाध्यक्ष रेयाज अहमद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटेलाल यादव, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो।




