मकवानपुर,२७ कातिक । मकवानपुर प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध ट्रामाडोलसहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका–१२ घर भई हेटौंडा–१५ बस्दै आएका १९ वर्षका अशोक स्याङ्तान, हेटौंडा–१७ बस्ने २० वर्षका प्रवेश बरैली, हेटौंडा–४ का २० वर्षीय निशान कोइराला, ३५ वर्षका बक्सर भन्ने राजीव लामा र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षका दिपेश संजेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–५ स्थित सानोपोखरामा बसिरहेको अवस्थामा उनीहरुलाई पक्रेको हो । उनीहरुको साथबाट ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले उनीहरुले चढ्दै आएको ना.३२ प ३२४४ र बा. प्रदेश ००५ प १८५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाए ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत मकवानपुरबाट लागुऔषध कसुरमा म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी बोगटीले बताए ।




