जनकपुर,२८ कात्तिक । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले लगातार अनुपस्थित रहेकाले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्। नेपालको संविधानको धारा १८० (घ) अनुसार १० वटा बैठकमा निरन्तर हाजिर नहुँदा उनीहरूको सदस्यता स्वतः खारेज हुने व्यवस्था छ। सोही प्रावधानअनुसार सभामुखले कारबाहीको जानकारी सार्वजनिक गरेका हुन्।
पदमुक्त हुने सांसदहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह तथा जनता समाजवादी पार्टी नेपालका मनिषकुमार सुमन, संजयकुमार यादव, सिंहासन सा कलवार र सारदा शंकर प्रसाद कलवार छन्।
सभामुखले जारी गरेको सूचनाअनुसार कात्तिक २७ गतेदेखि नै उनीहरूको सदस्यता खारेज भइसकेको मानिनेछ।
सूचनामा भनिएको छ, “मिति २०८२ कार्तिक २७ गतेदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएकाले सम्बन्धित सदस्यहरूको स्थान रिक्त भएको जानकारी प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सबैलाई गराइन्छ।”
यससँगै मधेस प्रदेशसभामा पाँच स्थान रिक्त बनेका छन्।



