spot_img

योमनको शव लन्डनबाट नेपाल पठाउन सहयोग संकलन सुरु

spot_img
spot_img

काठमाडाैं,२८ कातिक । बेलायतमा अध्ययनरत नेपाली युवक योमन चन्दको आकस्मिक निधनपछि उनका परिवारको अनुरोधअनुसार शव नेपाल पठाउन बेलायती नेपाली समुदायले सहयोग संकलन सुरु गरेको छ।

सल्यानको दार्मा गाउँपालिका–४ निवासी २६ वर्षीय चन्द एक वर्षअघि एमएस्सी कम्युनिकेसन्स एन्ड इनफर्मेसन इन्जिनियरिङ अध्ययनका लागि हर्टफोर्डसायर विश्वविद्यालय, ह्याटफिल्ड आएका थिए। अध्ययन पूरा गरिसकेपछि बुधबार प्रमाणपत्र लिन पाउने अपेक्षा उनका लागि ठूलो खुशीको दिन हुने थियो। तर त्यसअघि मंगलबार बिहान उनी आफ्नै कोठामा सुतेकै अवस्थामा मृत फेला परे।

छोराको अन्तिम दृष्य हेर्न शव नेपाल ल्याइदिन आग्रह गरेपछि एनआरएनए यूकेले सहयोग संकलनको पहल गरेको अध्यक्ष राजेन्द्र पुडासैनीले बताए।
उनका अनुसार, “यो मानवीय कार्य हो। बेलायतभरका नेपाली समुदायलाई सक्दो सहयोग गर्न अनुरोध गर्दछौं।”

बिहीबार बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिरजंग गुरुङसहितका पदाधिकारी, दिवंगत चन्दका साथी र आफन्तको उपस्थितिमा परिवारसँग सम्पर्क गरेर एक–द्वार (‘वन विन्डो’) प्रणालीमार्फत सहयोग जुटाउने र शव नेपाल पठाउन आवश्यक सबै प्रक्रिया समन्वय गर्ने निर्णय गरिएको छ।

यसका लागि एनआरएनए यूके अध्यक्ष पुडासैनी, बर्न्टओक नेपाली समाजका अध्यक्ष गुरुङ, उपाध्यक्ष मुरारी थापा, स्वास्थ्य एवं वेलबीइङ संयोजक सुष्मा गुरुङ, चन्दका भाइ सुजन शाह, बहिनी सोनम रावत तथा साथी मनोज कुँवर र प्रमिला नेपाली सहितको संयोजन समिति गठन गरिएको छ। समितिले ‘गोफन्डमी’ मार्फत सहयोग गर्न बेलायतस्थित सबै नेपाली एवं संघ–संस्थालाई अपिल गरेको छ।

योमन चन्दको शव हाल नर्थवीक पार्क अस्पतालमा राखिएको छ। कोरोनरको रिपोर्टपछि मात्र शव परिवारका प्रतिनिधिलाई हस्तान्तरण गरिने अस्पतालले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय