जनकपुर,२८ कातिक । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाभित्र सांसदहरूमाथि कुटपिट गरिएको भन्दै आएका आरोपहरू सत्य नभएको बताएका छन्। बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले घटना सम्बन्धी समाचारहरू अतिरञ्जित रूपमा प्रस्तुत भएको दाबी गरे।
सभामुख मण्डलले भने, “गलत समाचार आएको छ। प्रहरीको उपस्थितिमा कसैलाई कुटपिट गर्ने प्रश्न नै हुँदैन। त्यस्तो कुनै योजना वा प्रयास भएको पनि होइन।”
तर विपरीत रूपमा माओवादी केन्द्र संसदीय दलका नेता भरत शाहले भने सांसद राजु गुप्ता, महेश यादव र उपेन्द्र महतो प्रदेशसभाभित्र नै कुटपिटमा परेको दाबी गरेका छन्। शाहका अनुसार सभामुखविरुद्ध प्रस्ताव दर्ता गर्न गएका सात दलका सांसद र सभामुखको पक्षमा रहेका एमाले कार्यकर्ता–नेताबीच हाताहातसम्मको स्थिति बनेको थियो।
यही विवादको बीचमा बिहीबार सात दलले सभामुख मण्डलमाथि ‘पदअनुकूल आचरण नगरेको’ आरोप लगाउँदै प्रदेशसभामा प्रस्ताव दर्ता गरेका थिए। प्रस्ताव दर्ताका क्रममा दुई पक्षबीच धक्का–मुक्कासँगै तनावपूर्ण अवस्था सिर्जना भएको थियो।




