बीरगन्ज,२८ कातिक । प्रतिकूल मौसमी परिस्थितिका कारण मधेस प्रदेशमा यस वर्ष धान उत्पादनमा उल्लेखनीय गिरावट आउने देखिएको छ। सुक्खायाम तथा बाली भित्र्याउने संवेदनशील समयमा परेको अप्रत्याशित वर्षाले धान उत्पादन करिब २० प्रतिशतले घट्ने प्रारम्भिक अनुमान कृषि अनुसन्धान निर्देशनालय, मधेस प्रदेशले जनाएको छ।
बीरगन्जमा आयोजित प्रदेशस्तरीय कृषि प्राविधिक समूह कार्यशाला गोष्ठीमा कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले धान लगाउने समयमै देखिएको सुक्खायामले उत्पादनमा ठूलो असर पारेको बताए। उनका अनुसार, “सुक्खायामका कारण धानखेती हुने कुल क्षेत्रफलमध्ये १३ प्रतिशतमा रोपाइँ हुन सकेन। साथै भित्र्याउने समयमा परेको वर्षाले बालिमा थप क्षति पुर्यायो।”
मधेस प्रदेशमा सामान्यतया करिब १३ लाख मेट्रिक टन धान उत्पादन हुने गर्छ। तर यस वर्ष उत्पादन १० लाख मेट्रिक टनको हाराहारीमा झर्ने अनुमान गरिएको छ। प्रदेशका आठ जिल्लामा धान रोपाइँ हुने ३ लाख ७२ हजार ६४५ हेक्टरमध्ये ८७ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहालले प्रदेश सरकारले कृषि क्षेत्रमा यान्त्रीकरण र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिरहेको बताए। उनले भने, “हाम्रो ध्यान उपलब्ध प्रविधिको उच्चतम उपयोग गरेर उत्पादनशीलता बढाउनमा केन्द्रित छ। प्राविधिकहरूको क्षमता अभिवृद्धि पनि त्यसैको महत्त्वपूर्ण भाग हो।”
कृषि अनुसन्धान निर्देशनालयका प्रमुख विश्वेरप्रसाद यादवका अनुसार प्राविधिकहरूको दक्षता अभिवृद्धि र नवीन कृषिअनुसन्धानका जानकारी किसानसम्म पुर्याउने उद्देश्यले यस्ता गोष्ठी आयोजना गरिँदै आएको छ।




